फ्रान्सको नयाँ राष्ट्रपतिमा म्याक्रोन निर्वाचित


एजेन्सी, २५ वैशाख ।
युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।

दोस्रो चरणमा दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी मतअन्तरले पराजित गर्दै क्याक्रोन राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

म्याक्रोनले ६६ दशमलव शून्य ६ प्रतिशत मत ल्याउनु भएको छ भने पेनले ३३ दशमलव ९४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । ३९ वर्षीय म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हाल्नु भएको छैन ।

फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरु भएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टी भन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बनेका छन् ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि पहिलो सम्बोधन गर्दै म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताउनु भयो । म्याक्रोनले देशभित्रको भेदभाव अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाले युरोपेली संघ र फ्रान्सेली जनताबीच सम्पर्क पुनस्थापित गर्ने बताउनु भएको छ । उहाँले चरमपन्थी र जलवायु परिवर्तनको खतरासँग पनि जुध्ने उद्घोष पनि गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार