एफए कपको सेमिफाइनलमा आज आर्सनल र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुदै


एजेन्सी १० वैशाख ।
एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको खेलमा आज राति आर्सनल र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुदै छ ।

आजरातिको खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि चेल्सीको सामना गर्नु पर्ने छ । एफए कप प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा चेल्सी फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।

चेल्सीको जितमा विलियनले दुई तथा इडन हजार्ड र नेमान्जा म्याटिकले गोल गरे । टोटनह्यामका लागि ह्यारी केन र डेल अलीले एक एक गोल गरे । पाँचौं मिनेटमा नै विलयनले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

खेलको १८ औं मिनेटमा केनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । ४३ औं मिनेटमा पाएको पेनाल्टीमा विलियनले गोल गर्दै फेरि चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफमा चेल्सीले २–१ को अग्रता लिएको थियो ।

खेलको ५२ औं मिनेटमा अलीले टोटनह्यामका लागि बराबरी गोल गरे। तर बेन्चमा रहेका हजार्ड मैदानमा छिरेर गोल गरेपछि चेल्सीले अग्रता लियो । हजार्डले ७५ औं मिनेटमा गोल गरे । त्यसपछि ८० औं मिनेटमा म्याटिकले गोल गर्दै चेल्सीलाई ४–२ को जित दिलए ।

यसमा तपाइको मत

अन्य समाचार