आइपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्स विजयी


इन्दौर, वैशाख ८ ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २७ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।
मुम्बईको जितमा जोस बटलर र नितिश राणा नायक बनेका छन् । बटलरले ३७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ७७ रन बनाए । त्यस्तै अर्का प्रारम्भिक ब्याट्स म्यान पार्थिव पटेलले १८ बलमा ३७ रन बनाए ।

त्यस्तै २९ बलमा अर्द्धशतक पुरा गरेका नितिश राणाले ३४ बलमा ६२ रन बनाउँदै जित दिलाए । त्यसअघि पञ्जावका ब्याट्सम्यान हासिम आमलाले ६० बलमा एक सय ४ रनको शानदार पारी खेले भने कप्तान म्याक्सवेलले १८ बल मै ४० रन बनाए ।

तर पञ्जावका बलरहरुले फितलो प्रदर्शन गर्दा मुम्बईले फराकिलो जित हात पारेको हो । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले ६ खेलबाट पाँच जितका साथ १० अंक बटुलेर शीर्षस्थान कब्जा गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार