दक्षिण कोरियामा नेपालीको मासिक तलब १ लाख ३० हजार रुपैयाँ


काठमाण्डौ ,१ साउन ।
रोजगारीका लागी दक्षीण कोरिया जाने नेपाली कामदारको मासिक तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

कोरियाको ज्याला निर्धारण समितिको आज बिहान बसेको १४ औं बैठकले सन् २०१७ देखि लागू हुने गरी मासिक तलबमा ७ दशमलब ३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तलब अनुसार मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने भएका छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् ।

तलब बृद्धिसँगै उद्योगको प्रकृति अनुसार महिनामा २ सय ९ घण्टा काम गर्ने नेपाली कामदारले न्युनतम १३ लाख ५२ हजार २ सय ३० वन करिब १ लाख ३० हजार रुपैयाँ पाउने भएका छन् ।

शुक्रवार साँझ ५ बजेदेखि बसेको ज्याला निर्धारण समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानका आधारमा निर्णय भएको छ । मतदानमा सरकारी र रोजगारदाता प्रतिनिधि १६ जना मात्र सहभागी थिए । ती मध्ये १४ जनाले ७ दशमलब ३ प्रतिशत बढाउनुपर्न प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए ।

मजदुर प्रतिनिधिहरुले भने प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राख्दै मतदान बहिस्कार गरेका थिए । बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेपछि समितिका अध्यक्ष पार्क जुन सङले २०१७ का लागि मजदूरको तलब ७ दशमलब ३ प्रतिशतले बृद्धि भएको घोषणा गर्नुभएको हो ।
मजदूर संगठन केसिटियु र एमटियुले सरकारी र रोजगारदाता प्रतिनिधिले मात्र निर्धारण गरेको पारिश्रमिक अमान्य हुने बताउदै विरोध गरेका छन् ।

उनीहरुले पत्रकार सम्मेलन गर्दै बढ्दो महंगीले अहिलेको तलब स्केलले दैनिक जीवन यापन गर्न गाह्रो हुने बताए । आज पारित भएको प्रस्तावका लागि २० दिनसम्म उजुरी म्याद राखिएको छ ।

यो अवधिमा कुनै पक्षबाट उजुरी नआए श्रम तथा रोजगार मन्त्रीले अगस्ट ५ मा मन्त्रिपरिषद बैठकमा पेश गर्ने छन् । मन्त्रिपरिषदले पारित गरे पछि निर्णय २०१७ को जनवरीबाट लागु हुने छ । कोरिया सरकारले प्रत्येक बर्ष मजदुहरुको तवब बृद्धि गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार