बुढीआमैसँगै बृद्धाश्रम पुगेको डब्बा


उमेरले जति बुढी होलिन् त्यो भन्दा बढी नै फतक्क गलिसकेजस्ती कमजोर। एउटा हातमा सानो डब्बा। अर्को हातमा लट्ठी। धेरै नबोल्ने जस्ती। उनी भिजेको देख्दा मलाई केही सहयोग गर्न मन लाग्यो। समातेर ओततिर ल्याएँ।

बुढीआमाले मेरो मुखमा पुलुक्क हेरिन्। अनि फेरि अनिच्छा झैँ दुर क्षितिजतिर हेर्न थालिन्। आकाश कालो थियो पूर्व उत्तर दुबैपट्टी। बुढीआमैको अनुहार पनि पटक्कै उज्यालो थिएन। खै त्यो अनुहार पनि तेसैगरी बर्सन पो हो कि! मेरो मनमा कता कता खुल्दुली जाग्यो। के के कुरा मनमा आयो। पानी अलि कम भएपनि फिसफिस पानी परिरहेको थियो। आमै बिना छाता हिड्न लागिन्। मलाई खै किन हो उनलाई गन्तब्यसम्म पुर्‍याइदिउँ झैँ भयो।

मैले छाता ओढाईदिँदा एकपटक पुलुक्क हेरे बाहेक उनले मसित बाटोभरी कुनै उत्तर दिईनन्। या त घोर रिसमा या घोर पीडामा छन् भन्ने अनुमान मैले गरे। जाँदाजाँदै आमैको सास अलि बढ्यो। मैले ‘अप्ठ्यारो भो आमा?’ भन्दा ‘छैन’ संकेतमा मुन्टो हल्लाइन्। मलाई चाँही आमैलाई दम बढेझै मानेर अस्पताल लैजाऊ कि झैँ भयो। मैले नजिक मेडिकल हल पाए औषधिसम्म दिन पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेँ।

बुढी आमैले पहिलोचोटी मेरो हात समाएर बृद्धाश्रमतिर संकेत गरिन्। केही नबुझेपनि छाता ओढाउँदै सँगसँगै हिड्नुबाहेक मेरो अर्को उपाय भएन।

आमैले डोर्‍याउँदै वृद्धाश्रम लिएर गइन्। गेटमा आफूसित आएको संकेत गर्दै मलाई आफ्नो कुनातिर लिएर गइन्। बिस्ताराको टुप्पाबाट ‘मिटर डोज इन्हेलर (दमको पफ)’ निकालिन्। पफ लिएको केहीपछि आमैको स्वास अलि ठीक भो। एक ट्याब्लेट पनि खाइसकेपछि आमै बरर्र आँसु झारेर रुन थालिन्। ठ्याक्कै कारण थाहा पाउन नसकेपनि आमैको आँशुले मलाई पगाल्यो।

मेरा आँखा रसाए। आँशुसितै मलाई हेरेर टोलाईन् एकछिन। अनि बोलिन्– ‘भाग्यमानी भए बाउ।’ म उत्साहित भएर उनको कथा जान्ने जिज्ञासा भए’नि  पैले उनको औषधिको जोहो गरूँ झैँ भो। चेक गर्ने सामान र औषधि सबै लिएर म फेरि आउँछु भन्दै म त्यहाबाट हिडेँ। बाहिरसम्म पुग्दा अचानक मलाई अर्की बुढीआमाले रोकिन्- ‘बाबु! तपाईँ उहाँको के पर्ने?’ मैले बाटोमा छाता ओढाएको मात्र नाता भन्नुभन्दा ‘छोरै जस्तै हो आमा!’ भनें। ‘बुढा बुढीलाई यस्तामा फालेर बस्छन् त बाउ? मेरा त कोइ छैनन् र पो!’

अब चाहिँ केही नबोली सुखै भएन झैं माने मैले! ‘हो आमा! सहि कुरा हो! तर मैले उहाँ को हो? उहाँका छोरा को हुन् केही थाहा छैन। मैले उहाँको दम बढेकाले मद्दत गरेको आमा!’ यी बृद्धाले अचम्मित हुदै भनिन् ‘ए! तेसो हो? बाउ यिनी पूर्वतिरकि हुन्! धेरै बोल्दिनन्। मनमा के के खेलाउँछिन्! एउटा डब्बा लिएर हिन्छिन् सधैँ खै किन हो। मद्दत गरेछौ बाउ! बढिया भयो!’

मलाई वृद्दाको कुरा सुनेर अचानक के भो फेरि उनै दम बढेकी आमाकहाँ जान मन भो। फटाफट घर पुगेँ। दमका आफूसित भएका ‘स्याम्पल औषधि’ जम्मै अनि पिक फ्लो मिटर, स्टेथोस्कोप सबै बोकेँ। नभएका केही औषधि मेडिकलमा किनेँ। उत्साहित हुँदै फेरि पुगेँ उही वृद्धाश्रममै।

म पुग्दा आमै आफ्नो खाटको कुनामा टोलाएकी थिइन्। तर श्वास ठीकै थियो त्यो बेला। श्वाश-प्रश्वास चेक गर्दागर्दै मेरा आँखा उनको सिराननेरको त्यही सानो डब्बामा फेरि पर्‍यो। ‘ल आमा! यो हजुरले खाईरहनुभा’को दबाई हो। यी दबाई चै थप खानुपर्ने हुन्छ हजुरले।’ मैले उनलाई आफूले ल्याएका दबाई दिएँ। आमा रसाएका आँखासँग बोल्न थालिन्।

‘पूर्व झापा घर, बाउ। सारै दुःखले चार छोरी दुई छोरा हुर्काएँ। दुई वटा त गर्भैमा ग’का हुन्। आफू स्वर्गे हुँदा जेठो अस्लिया गैसक्याथ्यो। बाउ बित्दा नेपाल आ’को हो। झट्टै फर्क्यो। तेसपछि कैलेई हेरेन। कान्छो ठूलै भो। सिरफुल, कानका माडवारी सबै बेचेर कान्छालाई बिएसम्म पढाएँ। कान्छाको बिहेपछि म एक्लो भएँ बाबु।

मेरो धेरै रगत बग्थ्यो मैनावारी बाहेक पनि। दमको रोगी। स्याँ स्याँ, खोकी। डाक्टरले धुवाँ आउने चुलाँ बढी बसेर हुनसक्छ भने। म बिस्तारै घाँडो हुँदै गएँ घराँ। सानो नातिसँग दिन काट्थेँ। त्यो नि पाइन। पछि कान्छाले यहाँ ल्याएर छोड्यो। बेलाबेलामा दम बढेर अत्याउँछ।’

आमैको प्रस्तुतिमा देखेँ गहिरो निराशा अनि गहभरी अनवरत आँशु। मेरो मन एकतमासको भो। केही बाक्य निस्केन गलाबाट।

बोल्दाबोल्दै आमै सिरानतिर गइन्। त्यही उनले बोकिरहने सानो डब्बा खोल्दै भनिन्- ‘मैले पैले पैले कैल्यै जन्मदिन थाहा नि पाउन्नथें। कान्छो नौ वर्षको हुँदा मसित चिना माग्यो। धेरै बेर हेर्‍यो। अनि भयो आमा भन्यो। पछि ‘साउन आठ’मा त्यसले एउटा कागज दियो- अंग्रेजीमा जन्मदिनको शुभकामना लेखेको अनि मुन्तिर मेरी आमा लेखेर मैन कलरले बना’को मेरो चित्र। सिकारू तर मलाई गज्जप लायो। मैले अंग्रेजी नबुझे’नि चित्र बुझेँ। हर्खले रोयेचु। ‘के लेखेको’नि सानु’ भनेर काखमा लिएँ। ‘मामु मैले हजुल्लाई ह्याप्पी बर्ड डे मामु लेखेको नि!’ भन्यो। मैले रुदै धेरै बेर उसलाई काखमा ली रहें।’

आँसु सितै डब्बाबाट कार्ड झिकिन्। मैन कलरले बालकको हातले लेखेको प्रस्ट चिनिने पुरानो पेपरमा ‘ह्याप्पी बर्ड डे टु यु माइ डियर मम’ लेखेर तलपट्टि सिकारुझैँ एक महिलाको मैन कलर चित्र मैले ठम्याएँ।

‘तेइ दिन काख छँदै उसले खल्तीबाट चकलेट निकालेर ‘आमा यी ह्याप्पी बर्ड डे को चकलेट’ भन्दै मेरो मुखमा हाल्दियो। खाजा खान ल’को पैसाले चकलेट किनेच। मैले मुखबाट आधा झिकेर उसलाई ख्वाइदिएँ।

‘आमा ह्याप्पी बर्ड डे मा नि खीर खानुपर्छ’ भन्यो अचानक! मैले ठाकुरबाकहाँबाट दुध ल्याएर खीर पकाएँ। त्यहाँदेखि मैले सक्दासम्म उसको जन्मदिन र साउन आठमा मैले खीर पकाउथेँ घरमा। उसको जन्मदिन नि तेसरी मनाउँथेम। आज पनि साउन आठ हो बाबु। पशुपति गएर आ’को ब्यान तिम्ले भेट्दा। उल्लाई भेट्न नपा’नि उसको राम्रो भैदिए हुन्थ्यो। अचेल जन्मदिनमा खीर पकाउन्न। एई डब्बा खोल्चु। हेरेर रुन्चु। ऐले उसको छोराले नि काट्या होला येस्तई उल्लाई उसका जन्मदिनाँ।’

धेरै बेर रोएर उनी यति बोलिन्- ‘आज कति बर्षपछि पशुपतिले साउन आठमा तिम्लाई पठाएछन् मेरा यो दबाई नि खीर जस्तै भो बाउ।’ उनको आँशु रोकिएन्।

मेरो मन निमोठीएर आयो। म भक्कानिएँ। मनभरी जन्मदिनका शुभकामना उर्लिएपनि बोल्न सकिनँ। ती आमैको रहस्यमय डब्बा वृद्धाश्रम पठाउने छोराले सानो छँदा दिएको यस्तो प्रिय डब्बा राख्ने डब्बा रहेछ। तेही उनको गहना तेही उनको सहारा तेही उनको जिउने बहाना। र त कहिँ गए’नी छोड़दीरहिनछन्।

अहिले यी बर्षभरिकै दिनमा पशुपतिमा आफ्ना छोराछोरीको प्रगति माग्छिन्। तर कमसेकम आमा औंशी या जन्मदिनमा उनीकहाँ कोइ खीर या मैन कलर चित्र लिएर आउँदैन। कमसेकम आज यीनलाई एकछाक खीर ख्वाउन पाए हुन्थ्यो भने झैँ भो। आमालाई प्रणाम गरि निस्कदै गर्दा मेरो मनमा खुल्दुली आयो- आखिर मैन कलरका चित्रहरु शैशवकाल कट्नासाथ किन नकोरिने होलान् हामीबाट?

गौशालाबाट भित्री बाटो फटाफट अर्को बाटो निस्किन हिड्दा वार्रर पानी पर्‍यो। एसो ओत लागेँ। त्यतीखेरै एउटी बुढी आमैतिर मेरा नजर तानिए।

यसमा तपाइको मत

अन्य समाचार